नेपाल–भारत सीमा ७२ घण्टा बन्द हुने : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा किन यो कदम ?

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २५ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमानाका ७२ घण्टासम्म बन्द गरिने भएको छ। रौतहटको चन्द्रनिगाहपुरमा आज साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समितिको बैठकले यो निर्णय गरेको हो। महोत्तरी, सर्लाही र रौतहट जिल्लाका नेपाली सुरक्षा अधिकारी तथा भारतको सीतामढीका सुरक्षा अधिकारीहरूबीचको संयुक्त समन्वय बैठकमा निर्वाचनको सुरक्षा प्रबन्धबारे विस्तृत छलफल भएको थियो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन यो नियमित सीमा सुरक्षा बैठक आयोजना गरिएको हो। नेपाल वा भारतमा जुनसुकै निर्वाचन हुँदा सीमानाका बन्द गर्ने परम्पराअनुसार यो निर्णय लिइएको उनले बताए। बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार रोक्ने, भन्सार छली नियन्त्रण र सूचना आदानप्रदानजस्ता विषयमा पनि छलफल भएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए। दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिमा सीमा क्षेत्रमा पूर्ण शान्ति–सुरक्षा कायम गर्ने र अति आवश्यकबाहेक आवागमन ठप्प पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्ता समन्वय बैठकहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?