प्रतिनिधिसभा निर्वाचनका लागि एमाले बाराद्वारा २८ जनाको नाम सिफारिस
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २४ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले बारा जिल्लाले प्रत्यक्षतर्फ २८ जनाको नाम सिफारिस गरेको छ। चारवटा संघीय निर्वाचन क्षेत्र रहेको बारामा क्षेत्र नम्बर १ बाट ७ जना, क्षेत्र नम्बर २ बाट ८ जना, क्षेत्र नम्बर ३ बाट ३ जना र क्षेत्र नम्बर ४ बाट ३ जना गरी २१ जना तथा निर्वाचन क्षेत्र नतोकी थप ७ जनासहित कुल २८ जनाको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष अद्यानन्द पाण्डेले जानकारी दिए। सिफारिसमा परेकामध्ये केही ११औँ महाधिवेशनबाट निर्वाचित तथा पराजित नेता र केही प्रदेशसभा सदस्यसमेत रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट अच्युत मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरीलगायत ७ जना, क्षेत्र नम्बर २ बाट बलवीर चौधरी, अमरदेवप्रसाद यादवसहित ८ जना, क्षेत्र नम्बर ३ बाट अद्यानन्द पाण्डे, एम. समिउल्लाह र सीमा ठकुरी तथा क्षेत्र नम्बर ४ बाट अमरदेव यादव, कृष्णकुमार श्रेष्ठ र सीता गुरुङ सिफारिसमा परेका छन्। यसैगरी निर्वाचन क्षेत्र नतोकी ज्वालाकुमारी साह, गायत्री देवी, सीता सुवेदीलगायत ७ जनाको नाम जिल्ला सचिवालयको सुझावमा सिफारिस गरिएको छ। पटक–पटक मन्त्री भइसकेकी तथा क्षेत्र नम्बर ३ बाट यसअघि निर्वाचित ज्वालाकुमारी साह क्षेत्रीय सिफारिसमा नपरेपछि सचिवालयको सिफारिसमा समेटिएकी हुन्।
कमेन्ट गर्नुहोस्
view comments