मधेशमा कृषि योजनाको कार्यान्वयन तीव्र बनाउन मन्त्री पटेलको कडा निर्देशन
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २३ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रदेशमा कार्यान्वयन गर्न नसकिने कृषि योजनाहरूको सूची सात दिनभित्र मन्त्रालयमा पेस गर्न आठवटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्। कृषि विकास निर्देशनालय जनकपुरधामले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिक समीक्षा गोष्ठीमा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन्। उनले कुन योजनामा के कारणले अप्ठ्यारो छ भन्ने बेग्लै सूची बनाउन र कार्यान्वयनमा रहेका योजनालाई द्रुत गतिमा अघि बढाउनसमेत आग्रह गरे।
मन्त्री पटेलले गत आर्थिक वर्षमा कृषि मन्त्रालयको प्रगति प्रदेश सभामा सबै मन्त्रालयमध्ये कमजोर देखिएको र योजना कार्यान्वयन सन्तोषजनक नरहेको स्मरण गर्दै यो वर्ष कुनै पनि योजना फ्रिज हुन नदिने कडा अडान व्यक्त गरे। बजेट फ्रिज भए जनताले विकास नपाउने र मन्त्रालयको प्रगति नदेखिने भन्दै उनले काममा समस्या आए मन्त्रालयले हरदम सहयोग गर्ने आश्वासन दिए।
समीक्षा बैठकमा सहभागी कृषि ज्ञान केन्द्र प्रमुखहरूले भने दरबन्दीअनुसार कर्मचारी नहुँदा काम गर्न कठिनाइ भइरहेको गुनासो राखेका थिए। बैठकमा प्रदेशको कृषि क्षेत्रका अन्य समस्याहरूबारे पनि विस्तृत छलफल भएको निर्देशनालय प्रमुख जितेन्द्र यादवले जानकारी दिए। यो निर्देशनले मधेश प्रदेशमा कृषि विकासको गति बढ्ने र जनताले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments