मधेश प्रदेशमा पुनः शीतलहर : जनजीवन प्रभावित, जोखिममा बालबालिका र वृद्ध
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष २० गते । सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा शनिबारदेखि पुनः शीतलहर सक्रिय भएपछि जनजीवन कष्टकर बनेको छ। बिहीबार र शुक्रबार दिउँसो केही समय घाम लाग्दा नागरिकले राहत महसुस गरे पनि शनिबारदेखि चिसो बढ्दै जाँदा हुस्सु र कुहिरोले दैनिक गतिविधि प्रभावित बनाएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन कठिन भएको स्थानीयको भनाइ छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, अशक्त तथा विपन्न वर्ग बढी प्रभावित भएका छन्।
शीतलहरसँगै बाक्लो कुहिरो लाग्दा यातायात तथा हवाई सेवामा समेत असर परेको छ। सडकमा दृश्यता कम हुँदा सवारी साधनहरू सुस्त गतिमा चल्न बाध्य छन् भने केही स्थानमा उडानसमेत प्रभावित भएका छन्। चिसोका कारण विद्यालय जाने विद्यार्थी, कार्यालय पुग्ने कर्मचारी तथा सेवा लिन जाने सर्वसाधारणलाई समेत समस्या परेको छ, जसले समग्र जनजीवनलाई ठप्पजस्तै बनाएको छ।
कृषि क्षेत्रमा पनि शीतलहरको प्रत्यक्ष असर देखिन थालेको छ। किसानहरूका अनुसार हुस्सु र कुहिरोका कारण तरकारी तथा अन्य बालीनालीमा रोगको जोखिम बढेको छ भने चौपाया र पशुपक्षी जोगाउन कठिनाइ भइरहेको छ। सर्लाहीलगायत जिल्लामा सडक भिजेका छन् र रुखबिरुवाका पातहरू शीतले ढाकिएका देखिन्छन्। चिकित्सकहरूले यस्तो मौसममा अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न तथा तातो र झोलिलो खानेकुरा सेवन गर्न सुझाव दिएका छन्। शीतलहर अझ केही दिन जारी रहने अनुमानसँगै मधेश प्रदेशमा थप सावधानी आवश्यक देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments