मधेशमा बढ्दो सडक दुर्घटना: २१ प्रतिशत मृतक, युवा सबैभन्दा बढी जोखिममा

6 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष १८ गते । पछिल्लो समय विशेषगरी तराई–मधेश क्षेत्रमा सडक दुर्घटना तीव्र रूपमा बढ्दै गएको छ । नेपालमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमध्ये २१ प्रतिशत मधेश प्रदेशका रहेको तथ्यांकले अवस्था गम्भीर बन्दै गएको देखाउँछ । चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० दुर्घटनामा १ हजार ४२ जनाको मृत्यु हुँदा मधेश प्रदेशमा मात्रै २२० जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०८१/०८२ मा साउनदेखि मंसिरसम्म मधेशमा २६७१ दुर्घटनामा १९१ जनाको मृत्यु र ४५७६ जना घाइते भएका थिए । मृतक तथा घाइतेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवा बढी रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

दुर्घटनाको मुख्य कारण तीव्र गति, सडकको दुरावस्था, गुणस्तरहीन निर्माण, मापसे तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु रहेको स्थानीय बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार युवामा सचेतना अभावले जोखिम बढेको हो । दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँच, मापसे परीक्षण, विद्यालय–क्याम्पसमा सडक सुरक्षा सचेतना कक्षा, पर्चा–पम्पलेट तथा स्टिकर अभियान र चालक लक्षित प्रशिक्षण कार्यक्रम प्रभावकारी रूपमा बढाउनुपर्ने स्थानीयको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?