बाक्लो हुस्सु र चिसोले तराई–मधेशको जनजीवन प्रभावित, विद्यालय बन्द

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष १६ गते ।  बाक्लो हुस्सुले डम्म ढाकेको मौसम र निरन्तर पश्चिमी सिरेटोका कारण बढेको चिसोले तराई–मधेशको जनजीवन कष्टकर बनेको छ । पुस लागेयता चिसो बढ्दै जाँदा विशेषगरी विपन्न र गरिब घरपरिवार घूर तापेर जाडो कटाउन बाध्य छन् । महोत्तरी, सिरहा, सप्तरी, रौतहट, बारा र पर्सालगायत जिल्लाका मुसहर, बाँतर, डोम, दुसाध, चमारलगायत समुदायमा न्यानो लुगा, अन्न र ओढ्ने–ओछ्याउनेको अभाव छ । परालका छाना भएका बस्तीमा घूर र चटाइ (गोनर) नै जाडो छल्ने मुख्य सहारा बनेका छन्, घाम नलागेको दुई हप्ताले सास्ती झन् बढाएको छ ।

चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकाले तेस्रोपटक तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि पुस १८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो । यसअघि पाँच दिन जाडो बिदा दिइसकेको महानगरले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा थप गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो । १९ गते शनिबार परेकाले विद्यालय पुस २० गतेदेखि मात्र खुल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?