रौतहटमा ग्यास बुलेट दुर्घटना: पूर्वपश्चिम राजमार्ग बन्द

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस १५ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बुलेट दुर्घटनामा परेपछि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। मंगलबार बिहान ७ बजेर ५० मिनेटमा पूर्वबाट आउँदै गरेको युपी १७ ए २१४ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेर सडकमा तर्सो परेको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्।

बुलेटबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले राजमार्गमा सवारी आवागमन बन्द गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। आगलागीको जोखिम रहेकाले दमकल र बुलेट उठाउन क्रेन झिकाइएको छ। दुर्घटना जंगल क्षेत्रमा भएकाले नजिक बस्ती नभए पनि स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताउनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?