शीतलहरको प्रभावले १५ वटै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय
17 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १४ गते । तराईमा तीव्र शीतलहरको प्रभावले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरी जिल्लाका सबै १५ स्थानीय तहले विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्।पुसको पहिलो सातादेखि सुरु भएको शीतलहर क्रमशः बढ्दै गएपछि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाले विद्यालयमा जाडो बिदाको सूचना जारी गरेका हुन्।पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ आजदेखि जाडो बिदाको सूचना जारी गरेका छन्। सूचना जारी गर्ने स्थानीय तहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन्।
बर्दिबास नगर कार्यपालिकाको शिक्षा शाखाले आज सोमबार एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ। "भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र दिएका हौं," शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भन्नुभयो। उनले मौसमअनुसार फेरि निर्णय गर्ने बताउनुभयो।अधिकांश स्थानीय तहले भने तीन देखि पाँच दिनसम्म बिदा दिने जनाएका छन्।
"अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिएका छौं। बीचमा मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्," मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो।यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए।बढ्दो जाडोले खासगरी आधारभूत तहका साना बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नसक्ने भएकाले विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहा नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभयो।
"जाडो बढेको छ, साना बालबालिका त विद्यालय आउनै पनि छाडिसकेका छन्। यो अवस्थामा बिदा दिने निर्णय गरियो," उनले भन्नुभयो।स्थानीय तहले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन्।स्थानीय तहले बिदा सूचना जारी गर्नुअघि नै जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए।जिल्लाका करिब सबै भेगमा पछिल्लो एक साताभन्दा बढी समयदेखि बाक्लो हुस्सुले ढाकिरहेको छ। पछिल्ला पाँच दिनदेखि झनै चिसो बढ्न थालेपछि विद्यालय मात्र होइन, हाटबजारको चहलपहल पनि निकै घटेको छ। यस मौसमले खेतीपातीको काम पनि प्रभावित भएको किसानले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments