कृषि अनुसन्धान निर्देशनालयमा वैज्ञानिक अभाव : अनुसन्धान कार्य प्रभावित
22 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १३ गते । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा वैज्ञानिक तथा प्राविधिक जनशक्तिको अभावले पशु तथा बाली अनुसन्धान कार्य प्रभावित भएको छ । निर्देशनालयमा १७ जना वैज्ञानिकको दरबन्दीमध्ये केवल ३ जना मात्र कार्यरत छन् । माटो, बागवानी, माछा, पशु, कीट र बाली रोग विशेषज्ञ नहुँदा अनुसन्धानमा समस्या भएको हो ।
प्रशासकीय प्रमुख हरिहर न्यौपानेका अनुसार विज्ञ कर्मचारी अभावले अन्नबाली र बागवानीमा नयाँ जातको अनुसन्धान तथा उत्पादनमा समस्या परेको छ । “बाहिरका कार्यालयहरूले पनि यहाँ विभिन्न अनुसन्धान र परीक्षण गराउँछन्, तर जनशक्ति अभाव छ,” उहाँले भन्नुभयो । निर्देशनालयमा कुल ७६ जना कर्मचारीको दरबन्दी भए पनि २२ जनाले मात्र काम चलाउनुपरेको गुनासो छ । अधिकृत तहका प्राविधिक १८ को दरबन्दीमा ३, सुब्बा तहका ७ मा २ र खरिदार तहका ९ मा १ जना मात्र कार्यरत छन् । प्राविधिक सहयोगी १७ को दरबन्दीमा १० जना छन् ।
निर्देशक डा. विश्वेश्वर यादवले मधेश प्रदेशमा अन्य प्रदेशको तुलनामा कम जनशक्तिबाट पनि उत्कृष्ट काम गरिएको बताउनुभयो । “माटो विज्ञ, भेटेरिनरी, बागवानी र माछा सम्बन्धी वैज्ञानिक छैनन् । अधिकृत स्तरका प्राविधिकले जेनतेन हेरेका छन्,” उहाँले भन्नुभयो । निर्देशनालयले मधेशका ८ जिल्लामा अनुसन्धान, बीजवृद्धि, बाह्य परीक्षण, स्थलगत काम र नयाँ प्रजाति विकास गर्दै आएको छ । ९० बिघा जग्गामध्ये ३० बिघामा धान, मकै, गहुँको बीउ उत्पादन र बाँकीमा तेलहन, तरकारी, फलफूल, मुर्रा भैंसी र बोयर बाख्रा पालन गरिएको छ । उत्पादित माछाका भुरा किसानको माग धान्न नसकिने निर्देशक यादवले बताउनुभयो ।
दरबन्दी पदपूर्तिका लागि संघीय सरकारसँग छलफल र पत्राचार भइरहेको तथा फागुन २१ को निर्वाचनअघि द्रुतमार्गबाट कर्मचारी पदपूर्ति हुने जानकारी मन्त्रालयबाट आएको निर्देशक यादवले जनाउनुभयो । यो जनशक्ति अभावले मधेशको कृषि अनुसन्धान र विकासमा गम्भीर असर परेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments