रौतहटका उखु किसान आन्दोलित : चिनी उद्योगको सिन्डिकेटविरुद्ध संघर्ष समिति गठन
6 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष ११ गते । रौतहट, बारा, पर्सा र सर्लाहीका चिनी उद्योगहरूले आपसी सहमतिमा आफ्नो जिल्लाभित्रको उखु मात्र खरिद गर्ने निर्णय गरेपछि रौतहटका उखु किसानहरू आक्रोशित भएका छन् । यो कथित सिन्डिकेटले किसानहरूलाई अन्य जिल्लाका मिलमा उखु बेच्ने स्वतन्त्रता खोसेको भन्दै किसानहरूले आन्दोलनको घोषणा गरेका छन् ।
फतुवा विजयपुर नगरपालिका–९ विजयपुरमा बुधबार भएको भेलाले सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै संघर्ष समिति गठन गरेको छ । उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले भने, “किसानले चाहेको उद्योगमा उखु बेच्न पाउनुपर्छ । सिन्डिकेट हामी मान्दैनौं । यो नसच्याए कडा आन्दोलन गर्छौं ।” समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद यादवले पहिलो चरणमा जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने र माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जिल्लामा श्रीराम सुगर मिल बन्द भएपछि हाल बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज मात्र सञ्चालनमा छ । यसअघि धरमपुर क्षेत्रका किसानले सर्लाही र विजयपुर क्षेत्रका किसानले बाराको रिलायन्स मिलमा उखु बेच्थे । सिन्डिकेटले यो सुविधा खोसेको किसान राजकरण रायले बताए । “एउटै मिलको भर पर्दा समयमा चलान नपाउने र लैजान समस्या हुन्छ,” उहाँले गुनासो गर्नुभयो । मिल सञ्चालक बैजु बाबराले भने सिन्डिकेटको आरोप निराधार भएको दाबी गरेका छन् ।
जिल्लामा करिब ६ हजार उखु किसान छन् तर पछिल्लो समय सङ्ख्या घट्दै गएको सङ्घका अध्यक्ष यादवले जनाएका छन् । यो सिन्डिकेटले उखु खेतीलाई थप हतोत्साहित बनाउने किसानहरूको चिन्ता छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments