भारतीय नागरिकलाई किर्ते कागजातबाट नेपाली नागरिकता दिलाएको आरोपमा कार्यालय सहयोगी पक्राउ
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १० गते । सरकारी कागजात कीर्ते गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगी कृष्ण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कार्यालयका कागजात, सरकारी छाप, किर्ते दस्तखत तथा होलोग्रामको दुरुपयोग गरी नागरिकता वितरण गरिएको आशंकामा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार २०७६ सालमा इलाका प्रशासन रामगोपालपुरबाट वितरण भएका केही नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अघि बढाइएको हो । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडि बढाउन निर्देशन आएपछि प्रक्रिया तीव्र बनाइएको बताए । मण्डल पक्राउ परेपछि अर्का एक कार्यालय सहयोगी फरार रहेको जनाइएको छ । अनुसन्धानमा संलग्न कर्मचारीका अनुसार कीर्ते नागरिकता बनाएका केही भारतीय नागरिकले नेपाली राहदानीसमेत लिएर विदेश गएको आशंका छ । अनुसन्धान टुंगिएपछि थप विवरण सार्वजनिक गरिने प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments