बर्दिवासमा मोटरसाइकल दुर्घटना : श्रीमती र भतिजाको मृत्यु, चालक घाइते
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १० गते । बर्दिवास नगरपालिका–५ ढुङ्ग्रे गढन्तास्थित भित्री सडकखण्डमा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्र.२–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल ढुङ्ग्रे गढन्ताबाट बर्दिवासतर्फ आउँदै जङ्गली क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास बमले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा बर्दिवास–१० भालुझोराका ३३ वर्षीय मोटरसाइकल चालक सुरेश रसाइलीकी ३५ वर्षीया श्रीमती रश्मि विक र उहाँहरूका ५ वर्षीय भतिजा रोमन रसाइली रहेका छन् । रश्मिको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते रोमनलाई बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा चालक सुरेशको दाहिने खुट्टा भाँचिएको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी बमले बताउनुभयो ।
यो दुःखद घटनाले परिवारमा शोक छाएको छ । सडक सुरक्षाप्रति थप सतर्कता अपनाउन आवश्यक देखिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments