हिन्दू धर्मावलम्बीविरुद्ध आपत्तिजनक टिप्पणी गर्ने अफरोज आलममाथि कारबाहीको माग
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष १० गते । सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गरी अश्लील र अपमानजनक टिप्पणी गरेको आरोपमा राजविराज–१ रहमतपुर टोलका अफरोज आलममाथि तीन हिन्दू सङ्गठनले कानुनी कारबाहीको माग गरेका छन् । राष्ट्रिय बजरङ्ग दल, हिन्दू सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णप्रति घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको उल्लेख गर्दै यसले करोडौँ सनातनी श्रद्धालुहरूको धार्मिक भावना आहत पारेको र समाजमा धार्मिक सद्भाव बिगार्ने प्रयास भएको जनाइएको छ । “भगवान् श्रीकृष्ण धर्म, मर्यादा, प्रेम र करुणाका प्रतीक हुनुहुन्छ । यस्तो पवित्र आस्थामाथिको तुच्छ टिप्पणीले धार्मिक सहअस्तित्वमा खलल पुग्छ,” ज्ञापनपत्रमा भनिएको छ ।
सङ्गठनहरूका अध्यक्षहरू आकाश यादव (अमित), सुरेन्द्र दास र संयोजक अनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको संविधान र फौजदारी ऐनअनुसार धार्मिक भावना आहत पार्ने र घृणा फैलाउने कार्य दण्डनीय भएको उल्लेख गर्दै तत्काल छानबिन र कारबाहीको माग गरिएको छ । “हामी शान्ति र सहिष्णुतामा विश्वास गर्छौं, तर धर्ममाथिको अपमानमा सम्झौता गर्दैनौं,” उनीहरूको भनाइ छ ।
जिल्ला प्रशासन र प्रहरीलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन अनुरोध गरिएको छ । यो घटनाले धार्मिक सद्भाव र सामाजिक सञ्जालको दुरुपयोगको विषयमा बहस छेडेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments