जनकपुरधाममा दिपुचन्द्र दासको हत्याविरुद्ध विरोध र्यालीको घोषणा
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ९ गते । बङ्गलादेशमा हिन्दू युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्याको घटनाप्रति रामानन्दीय वैष्णव सङ्घ जनकपुरधामले गम्भीर आक्रोश व्यक्त गर्दै भोलि (पुस १० गते, बिहीबार) दिउँसो ३ बजे जानकी मन्दिर प्राङ्गणबाट शान्तिपूर्ण विरोध र्याली निकाल्ने घोषणा गरेको छ । सङ्घका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमा यो घटनालाई “धार्मिक आडमा गरिएको अमानवीय तथा मानवता विरोधी अपराध” भनेका छन् ।
महन्थ दासले बङ्गलादेशमा पटक-पटक अल्पसंख्यक हिन्दूहरूमाथि लक्षित हिंसा भइरहँदा सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । “यो हत्या कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र होइन, समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार हो,” उहाँले भन्नुभयो । उहाँले नेपाल सरकारलाई बङ्गलादेशसँग कूटनीतिक पहल गरी दोषीमाथि कडा कारबाही गर्न र अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न दबाब दिन आग्रह गर्नुभयो ।
“यदि यस्ता आक्रमण रोकिएनन् भने हिन्दू समाज, साधुसन्त र धार्मिक सङ्घसंस्थाहरू बङ्गलादेशविरुद्ध सशक्त प्रदर्शन गर्न बाध्य हुनेछन्,” महन्थ दासले चेतावनी दिनुभयो । विरोध र्याली जनकपुरधामका विभिन्न स्थानमा परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न हुने योजना छ । सङ्घले हिन्दू धर्मप्रति आस्था राख्ने सबै व्यक्ति, साधुसन्त, सामाजिक अभियन्ता र जनकपुरवासीलाई सहभागी हुन अपील गरेको छ ।
सङ्घले मृतक दिपुचन्द्र दासप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै धार्मिक सहिष्णुता, मानवता र शान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ । यो घटनाले नेपालमा पनि अल्पसंख्यक सुरक्षा र अन्तर्राष्ट्रिय धार्मिक सहअस्तित्वको विषयमा बहस छेडेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments