सिरहामा शीतलहरको मार : लहान नगरपालिकाद्वारा चोक-चोकमा घुर बाल्ने र सिरक वितरणको तयारी
22 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष ९ गते । मधेश प्रदेशमा लगातारको शीतलहरले जनजीवन कष्टकर बनाएको छ । चिसो हावाको प्रभावले लहान बजारसहित ग्रामीण क्षेत्रका दैनिक जीवन प्रभावित भएको छ । बालबालिका, वृद्धवृद्धा र विपन्न समुदाय बढी मारमा परेका छन् । बिहानैदेखि स्थानीयहरू घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थी उपस्थिति घट्दै गएको छ ।
लहान नगरपालिकाले चिसोबाट राहत दिन बजार क्षेत्रका विभिन्न चोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीका अनुसार ग्रामीण चोक, राधाकृष्ण चोक, गणेश चोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा घुर बालिएको छ । “बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहत कार्यक्रम सुरु गरेका छौं । बजारमा घुर बालिएको छ र २४ वटै वडामा आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी छ,” उहाँले भन्नुभयो । यसैगरी, गरिब तथा विपन्न ५०० परिवारलाई फाइबरको सिरक वितरण गर्ने तयारी भइरहेको छ ।
माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवका अनुसार अत्यधिक चिसोले विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा विद्यालय उपस्थिति घटेको छ । डिभिजन वन कार्यालय लहानले पनि मुख्य बजारमा दाउरा उपलब्ध गराउन ५ लाख बजेट विनियोजन गरेको सूचना अधिकारी राधेश्याम चौधरीले बताउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक छिट्टै बस्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो । १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको र दाउरा, न्यानो कपडा वितरणलगायत निर्णय गरी कार्यान्वयन गरिने उहाँको भनाइ छ । सरकारी निकाय र स्थानीय तहहरूले सक्रियता बढाएका छन् । यो शीतलहरले स्वास्थ्य र दैनिक जीवनमा गम्भीर असर पारेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments