मधेश प्रदेशमा सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजना निर्माण प्रक्रिया सुरु

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ९ गते ।  मधेश प्रदेश सरकारले समावेशी, दिगो र न्यायसङ्गत सुरक्षा प्रणाली विकास गरी सबै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको छ । खेलकुद तथा समाजकल्याण मन्त्रालयको आयोजना, लाइफ नेपालको समन्वय तथा युरोपेली सङ्घ र युनिसेफको सहयोगमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत मङ्गलबार साँझ जनकपुरधाममा भएको मस्यौदा छलफल कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले राज्यले सबैलाई सम्मान र संरक्षण गर्नुपर्ने भन्दै आवश्यकता भएका व्यक्तिलाई सामाजिक सुरक्षामा पहुँच बढाउने गरी कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका मन्त्रालयका उपसचिव धमेन्द्र लाल कर्णले सामाजिक सुरक्षा भत्ता कसलाई दिने भन्ने विषयमा डाटाको अभाव रहेको भन्दै प्रदेश सरकारले आफैं जनगणना गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई समूहमा विभाजन गरी मस्यौदामा छुटेका विषयमा सुझाव सङ्कलन गरिएको थियो । सहजीकरण गर्नुभएका डा. दीपेश घिमिरेले प्राप्त सुझाव समेटेर मस्यौदालाई अन्तिम रूप दिने जानकारी दिनुभयो । कार्यक्रमको सुरुवातमा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले मस्यौदा उपसचिव कर्णलाई हस्तान्तरण गर्नुभएको थियो ।

यो कार्ययोजनाले मधेशमा सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरण, लक्षित वर्गको पहिचान र दिगो सुरक्षा प्रणाली विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?