२०२६ जनवरीदेखि भारतमा खाद्यान्न वितरणको नयाँ अनुपात लागू, चामल–गहुँको मात्रा परिवर्तन
4 दिन पहिले प्रकाशित
एजेन्सी, मंसिर २२ गते । भारत सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन–२०१३ अन्तर्गत बेरोजगार, विपन्न र आर्थिक रूपले कमजोर परिवारलाई दिँदै आएको निःशुल्क खाद्यान्न वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको छ। केन्द्रको ताजा निर्णयअनुसार जनवरी २०२६ देखि अर्को आदेश नआएसम्म लाभुक परिवार तथा व्यक्तिलाई चामल र गहुँ वितरण १:४ को पुरानो अनुपातबाट फेरबदल गरी २:३ अनुपातमा उपलब्ध गराइनेछ। बिहार आपूर्ति विभागका विशेष सचिव उपेन्द्र कुमारले सबै जिल्ला अधिकारीलाई नयाँ निर्देशका बारेमा जानकारी गराएका छन्। हाल अन्त्योदय अन्न योजना (AAY) अन्तर्गत एक परिवारलाई प्रतिमाह ३५ किलो खाद्यान्न दिइँदै आएको छ, जसमा पहिले ७ किलो गहुँ र २८ किलो चामल थियो।
नयाँ प्रणाली लागू भएपछि अन्त्योदय परिवारहरूलाई महिनामा १४ किलो गहुँ र २१ किलो चामल गरी ३५ किलो खाद्यान्न उपलब्ध गराइनेछ। त्यस्तै, प्रायोरिटी हाउसहोल्ड (PHH) श्रेणीका लाभुकलाई प्रति व्यक्ति प्रतिमाह ५ किलो खाद्यान्न निःशुल्क दिइनेछ, जसमा हालको १ किलो गहुँ र ४ किलो चामलको सट्टा अब २ किलो गहुँ र ३ किलो चामल रहनेछ। केन्द्र सरकारले बिहारका उपभोक्ताका लागि १ लाख ४ हजार मेट्रिक टनभन्दा बढी गहुँ र २ लाख ७६ हजार मेट्रिक टनभन्दा बढी चामल उपलव्ध गराएको छ। यो परिवर्तनले उपभोक्तालाई खाद्यान्न वितरणमा नयाँ संरचनागत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments