बिहारमा एनडीएको बम्पर जितपछि नीतीशको उत्तराधिकारबारे चिन्ता, महागठबंधनमा नेतृत्व संकट
13 दिन पहिले प्रकाशित
एजेन्सी, मंसिर २ गते । बिहार विधानसभा चुनाव २०२५ मा एनडीएले प्रचण्ड बहुमत हासिल गरेसँगै राज्यको राजनीतिक भूगोल फेरि नयाँ मोडतर्फ अघि बढेको छ। जेडीयू–बीजेपी गठबन्धनले रेकर्ड जित निकाल्दै २०२५ देखि २०३० सम्म पुनः नीतीश कुमारकै नेतृत्व रहने संकेत देखिएको छ। तर ७५ वर्षीय नीतीशको यस कार्यकाललाई धेरैले ‘अन्तिम’ सम्भावना मानिरहेका छन्, जसले जेडीयूभित्र उत्तराधिकारी खोज्ने बहस बढाएको छ। पार्टीभित्र अहिले नीतीशकै बराबरी जनाधार राख्ने नेता देखिनु चुनौती बनेको छ भने उनका छोरासमेत राजनीति प्रवेशबारे गम्भीर देखिएका छैनन्। त्यस्तै बीजेपीमा पनि भविष्यको नेतृत्वबारे स्पष्टता छैन। एलजेपी(आर) का चिराग पासवानले आफूलाई उपमुख्यमन्त्री बनाउन चाहेकाे दाबी खुलेकाे छ, जसले एनडीएभित्रै पनि शक्ति सन्तुलनको नयाँ समीकरण जन्माएको छ।
उता महागठबन्धनको हारपछि विपक्षी राजनीति झनै अनिश्चितमा पुगेको छ। तेजस्वी यादवको नेतृत्वमा आरजेडीको ठूलो हारसँगै पार्टीको भविष्य र पारम्परिक मत बैंक जोगिन सक्ने कि नसक्ने बहस तीव्र बनेको छ। मुस्लिम मत दायरा खस्किनु र लालू परिवारभित्रको विवादले आरजेडीलाई थप कमजोर पारेको विश्लेषण भइरहेका छन्। कांग्रेसले पनि आरजेडीसँगको गठबन्धनले फाइदाभन्दा बढी घाटा भएको भन्दै आफ्नै बलियो नेतृत्व निर्माण गर्नुपर्ने आवाज उठेको छ। यता प्रशान्त किशोरको ‘जनसुराज’ पनि भविष्यका विकल्पमध्ये गनिन थालेको छ। यद्यपि, आरजेडी संगठन पुनर्गठन गर्दै तेजस्वीले नयाँ राजनीतिक तरिकाले फर्कन सके भने विपक्षी स्पेसको पहिलो दाबी उनीहरुकै हुने विश्लेषकहरूको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments