सर्वोच्चको अन्तरिम आदेश : मधेश प्रदेशका ५ सांसदको पदमुक्ति तत्काल रोक्नू
13 दिन पहिले प्रकाशित
काठमाडौं, मंसिर २ गते । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उक्त निर्णयमा अन्तरिम आदेश दिँदै पदमुक्त गरिएका पाँचै सांसदको पद यथावत् कायम रहेको ठहर गरेको हो। यससँगै जनता समाजवादी पार्टी नेपालका चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदको हैसियत अहिलेका लागि सुरक्षित भएको छ।
गत कात्तिक २७ गते सभामुख मण्डलले लगातार १० दिन प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै जसपाका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद साह र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई पदमुक्त गर्नुभएको थियो। पदमुक्त निर्णयलाई असंवैधानिक र प्रक्रिया विपरीत भएको दाबी गर्दै प्रभावित पाँचै सांसदले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै उक्त निर्णय कार्यान्वयनमा रोक लागेको छ भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म ती सांसदहरूको पद कायम रहने भएको छ।
कमेन्ट गर्नुहोस्
view comments