बिहारमा ५३ प्रतिशत विधायकमाथि आपराधिक मुद्दा, सबैभन्दा कान्छी विधायिका बनेकी मैथिली ठाकुर
2 घन्टा पहिले प्रकाशित
एजेन्सी, कार्तिक ३० गते । बिहार विधानसभाका २४३ मध्ये १३० अर्थात् ५३ प्रतिशत निर्वाचित विधायकमाथि विभिन्न आपराधिक मुद्दा दर्ता रहेको ‘एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स’ (ADR) को विश्लेषणले सार्वजनिक गरेको छ। यद्यपि पछिल्ला निर्वाचनमा आपराधिक मुद्दा भोगिरहेका उम्मेदवारको संख्या केही घटेको देखिएको छ। यसपालि २९ महिला विधायक विजयी बनेका छन्, जसमा २६ एनडीए र ३ राजदबाट निर्वाचित छन्। भाजपा र जदयूले समान रूपमा १३–१३ महिला उम्मेदवार उठाएका थिए, र दुवैतर्फबाट १०–१० विजयी भए। यीमध्ये चर्चित भजन–गायिका मैथिली ठाकुर अलीनगर क्षेत्रबाट विजयी हुँदै २५ वर्षमै बिहारकी सबैभन्दा कान्छी विधायक बनेकी छन्।
यसैबीच, नयाँ विधायकमध्ये सम्पत्तिको हिसाबले पनि ठूलो वृद्धि देखिएको छ। गत कार्यकालमा एक विधायकको औसत सम्पत्ति ४.३२ करोड रुपैयाँ रहेकोमा यसपटक दोब्बर बढी हुँदै ९.०२ करोड पुगेको ADR ले उल्लेख गरेको छ। सबैभन्दा धनी विधायकमा भाजपा का कुमार प्रणय १७० करोड भन्दा बढी सम्पत्तिसहित पहिलो स्थानमा छन्, भने सबैभन्दा कम सम्पत्ति भएका विधायक भाजपा कै मुरारी पासवान हुन्, जसको लिखित सम्पत्ति ६.५ लाख मात्र छ। आपराधिक मुद्दा भएका मध्ये राजदका अनन्त सिंहमाथि सबैभन्दा धेरै २८ मुद्दा रहेको रिपोर्टमा जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments