नेपाल–भारतका साधुसन्त, धर्मगुरु र भक्तजनहरूको सहभागितासहित पहिलो पटक हरिहरक्षेत्र–मिथिला चौरासी कोस सङ्कीर्तन परिक्रमा सुरु
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम,कार्तिक २९ गते । नेपाल र भारतका साधुसन्त, धर्मगुरु तथा भक्तजनहरूको सहभागितामा पहिलो पटक हरिहरक्षेत्र–मिथिला चौरासी कोस सङ्कीर्तन परिक्रमा आज (शनिबार, कात्तिक २९) बाट सुरु भएको छ। भारतको हरिहर क्षेत्र जनजागरण मञ्च, सांस्कृतिक उत्कर्ष परिषद् पटना, जानकी मन्दिर साधु समाज तथा विश्व हिन्दू परिषद्को समन्वयमा आयोजना हुने यो पाँच दिवसीय परिक्रमा मिथिलाक्षेत्रको धार्मिक–सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा प्रवर्धन गर्ने उद्देश्यले गरिएको हो। बिहारको हाजीपुरस्थित हरिहर क्षेत्रबाट दिउँसो २ बजे प्रारम्भ हुने यो टोली भिठ्ठामोड हुँदै जनकपुरधाम प्रवेश गर्ने आयोजकले जनाएको छ। मिथिला क्षेत्रका करिब ७०० भन्दा बढी साधुसन्त, धर्मगुरु र श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार परिक्रमा टोलीको स्वागत नगरदर्शन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति, जानकी मन्दिरमा प्रसाद ग्रहणलगायत धार्मिक कार्यक्रमहरूबाट गरिनेछ। उहाँले यो परिक्रमा मिथिला सभ्यतामा रहेको आस्था, संस्कृति र परम्परालाई प्रगाढ बनाउने महत्वपूर्ण धार्मिक पर्यटन अवसर भएको बताउनुभयो। “विगतमा भइरहेका यस्ता धार्मिक यात्रालाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो। जनकपुरधामबाट सहभागी हुन इच्छुक साधुसन्त तथा श्रद्धालुहरूका लागि जानकी मन्दिर र विश्व हिन्दू परिषद्ले व्यवस्थापनको व्यवस्था मिलाइएको छ।
परिक्रमा हाजीपुरबाट सुरु भई जनकपुरधाम–दरभंगा–वैशाली हुँदै पाँचौँ दिनमा पुनः हरिहर क्षेत्रमा शोभायात्रासहित समापन हुने भएको छ। प्रत्येक स्थानमा प्रवचन, संकीर्तन, सांस्कृतिक कार्यक्रम तथा धार्मिक विधिहरू सञ्चालन गरिनेछन्। उत्तराधिकारी दासका अनुसार कोभिड–१९ पछि रोकिएको यो परिक्रमालाई निरन्तरता दिँदै आगामी वर्षदेखि छ महिनाअगावै तयारी गरी गण्डक, नारायणी, चुरिया, कोशी, चतरा, सुपौल, भागलपुर हुँदै जनकपुरधाम आउने गरी सात वा नौ दिवसीय विस्तारित रूपमा आयोजना गर्ने योजना छ। यो परिक्रमाले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments