निर्वाचनमा शान्ति–सुरक्षा सुनिश्चित गर्न रौतहट प्रशासनको तयारी, प्रमुख जिल्ला अधिकारी भुसालको प्रतिबद्धता
25 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २० गते । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्ति–सुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जेन–जी आन्दोलनको भावना र नेपालको कानुन अनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक दल, नागरिक समाज र युवाहरूसँग सहकार्यमा निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी भुसालले महिला हिंसा, लागूपदार्थ र जातीय विभेदविरुद्ध अभियान सञ्चालन गरिने र जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि स्थानीय तह र कर्मचारीबीच सहकार्य बढाइने जानकारी दिनुभयो। उहाँले निजी क्षेत्रमा रोजगारी सिर्जना र उत्पादन बढाउनका लागि उद्यमी र सुरक्षा निकायबीच अन्तर्क्रिया गरिने बताए। कार्यक्रममा प्रहरी उपरीक्षक रबिन कार्कीले लागूपदार्थ ओसारपसार नियन्त्रण ठूलो चुनौती रहेको बताउँदै अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सक्रियता बढाइने जनाउनुभयो। त्यस्तै, सशस्त्र प्रहरी गणपति रामहरि अधिकारीले सीमाको सुरक्षासँगै विपत्को बेला जनताका लागि उद्धार र सहयोगमा सशस्त्र प्रहरी तत्पर रहेको जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments