तेलंगानामा सीपीएम नेताको हत्या, उपमुख्यमन्त्रीको आदेश– ‘दोषीलाई बख्सिँदैन’

3 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक १४ गते । तेलंगानाको खम्मम जिल्लाबाट एक सनसनीखेज घटना सार्वजनिक भएको छ, जहाँ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता समिनेनी रामा रावको हत्या भएको छ। उनको शव मधिरा विधानसभा क्षेत्रअन्तर्गत चिन्ताकनी थाना क्षेत्रको पाथरलापाडु गाउँमा बिहानीपख रगताम्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। पूर्व किसान संघका महासचिवसमेत रहेका रामा रावको धारिलो हतियारले घाँटी र शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरिएको बताइएको छ।

तेलंगानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्कले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कुनै हालतमा बख्सिने छैन भनेका छन्। उनले खम्ममका प्रहरी अधिकारीलाई तत्काल अपराधी पत्ता लगाउन आदेश दिँदै अनुसन्धान टोली, खोजी कुकुर, साइबर युनिट र प्रविधिको प्रयोग गरेर घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन निर्देशन दिएका छन्। प्रहरीका अनुसार घटनाको कारण अझै स्पष्ट भएको छैन र हत्यामा संलग्न व्यक्तिहरूको खोजी जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?