अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार, स्थायी कमिटी बैठकमा सहभागी

5 वर्ष पहिले प्रकाशित

पुस १, २०७७ । पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको स्रोतले जानकारी दिएको छ ।

सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
तर नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयको बहुमत सदस्यले त्यसको विरोध गरे । र, अध्यादेश फिर्ता लिन माग गरे । बुधबार स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो । प्रधानमन्त्रीले बैठकमा आउन अस्वीकार गरे ।

लगतै प्रचण्ड(नेपाल पक्षका नेताहरु अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशनको समावेदन बोलेर राष्ट्रपति कार्यालय पुगेपछि प्रधाननमन्त्री ओली अप्ठ्यारोमा परे । उनले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर शीतल निवास पुगेका नेताहरुलाई फिर्ता बोलाउन आग्रह गरे ।

जवाफमा प्रचण्डले अध्यादेश पहिले फिर्ता लिनुपर्ने अडान लिए । दुवै नेता आ(आफ्नो अडानमा बसेपछि दुबै पक्षका नेताहरुको पहलमा दुई अध्यक्षबीच बालुवाटारमा वार्ता सुरु भयो । स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्धयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी भएका थिए ।

प्रधानमन्त्री अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?