छठपछि विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री सोनल, ‘बहुमतको विश्वास प्राप्त हुनेमा विश्वस्त’

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आगामी छठ पर्वपछि विश्वासको मत लिने तयारी अघि बढाएका छन्। उनी गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकाले छठ पर्व सकिएलगत्तै प्रदेश सभामा विश्वासको मत पेश गर्ने तयारीमा रहेको उनले बताएका छन्।

सोनल जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार बनाएका हुन्। यी पाँच दलका जम्मा ५७ जना सांसद छन्, जसपामा १९, जनमतमा १३, माओवादी केन्द्रमा ९, लोसपामा ९ र एकीकृत समाजवादीमा ७ जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ।

यद्यपि जनमत पार्टीका दुई सांसद — पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह — जनस्वराज पार्टीतर्फ गएको कारण मतसंख्यामा केही अनिश्चितता देखिएको छ। त्यसबाहेक जसपाका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएकाले मत दिन पाउँदैनन्। यस्तो अवस्थामा समर्थन घटे पनि मुख्यमन्त्री सोनल भने आत्मविश्वासका साथ भन्छन् — “विश्वासको मतका लागि कुनै समस्या हुँदैन।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?