बिहार चुनावमा एनडीएको रणनीति परिवर्तन — यादव र मुस्लिम उम्मेदवार घटाएर परम्परागत मतदाता समूहमा जोड
4 दिन पहिले प्रकाशित
एजेन्सी,कार्तिक ५ गते । आगामी बिहार विधानसभा चुनावलाई लक्षित गर्दै सत्तारूढ एनडीए गठबन्धनले आफ्नो चुनावी रणनीतिमा ठूलो परिवर्तन गरेको छ। पछिल्ला चुनावहरूमा सामाजिक इञ्जिनियरिङमार्फत नयाँ मतदाता समूह तान्ने प्रयास गरे पनि यसपटक गठबन्धनले आफ्नो परम्परागत मत बैंक मजबुत पार्न केन्द्रित हुने निर्णय गरेको देखिन्छ। यसको संकेत भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) — जेडीयूले यादव उम्मेदवारहरूको संख्या घटाएर स्पष्ट रूपमा दिएका छन्। सन् २०२० को चुनावमा १६ यादव उम्मेदवार उठाएको भाजपा अहिले केवल ६ जनालाई टिकट दिइरहेको छ, भने मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको जेडीयूले गतपटक १८ यादवमध्ये योपटक केवल ८ जनालाई उम्मेदवार बनाएको छ। त्यस्तै, जेडीयूले मुस्लिम उम्मेदवार पनि ११ बाट घटाएर ४ मा सीमित गरेको छ।
विश्लेषकहरूको भनाइमा, भाजपा र जेडीयूले अब यादव र मुस्लिम मतदाताभन्दा आफ्नो स्थायी समर्थन आधार—कुशवाहा, वैश्य र अति पिछडा वर्ग (EBC) समुदायमा फोकस बढाएका छन्। उदाहरणका रूपमा पटना साहिबबाट वर्तमान विधायक नन्द किशोर यादवलाई टिकट नदिई कुशवाहा समुदायका रत्नेश कुशवाहालाई उम्मेदवार बनाइएको छ। त्यस्तै, मुजफ्फरपुरको औराईबाट रामसूरत रायको सट्टा निषाद समुदायकी रमा निषादलाई टिकट दिइएको छ। राजनीतिक विश्लेषक मनीष कुमार भारतीका अनुसार, “पछिल्ला वर्षहरूमा यादव र मुस्लिम समुदायलाई तान्ने प्रयास असफल भएपछि, एनडीए दलहरू अब पुनः आफ्ना परम्परागत मतदाता समूहमा फर्किरहेका छन्।”
कमेन्ट गर्नुहोस्
view comments