प्रचण्डको भनाइ — “निर्वाचनको तयारीमा सबै जुटौं, छठपछि वाम एकताको नयाँ रुप देखिनेछ”
4 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक ५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले देशको वर्तमान राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनको घोषणा भएपछि सबै पक्षले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारको घोषणापछि अपिल गर्ने पहिलो दल माओवादी केन्द्र नै हुने दाबी पनि गर्नुभयो।
प्रचण्डले आगामी छठ पर्वपछि वामपन्थी एकताको नयाँ रुप देखिने विश्वास व्यक्त गर्दै समाजवादी मोर्चा र वाम दलहरूबीचको सहकार्यलाई सकारात्मक संकेत मिलिरहेको उल्लेख गर्नुभयो। “जेन–जी मधेश प्रदेशमा कार्यक्रम गर्ने पार्टी पनि हामी हौं,” उहाँले भन्नुभयो, “वाम ध्रुवीकरण र एकताको प्रक्रिया तीव्र गतिमा अघि बढ्दैछ।” महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुनुअघि जनकपुरधाम विमानस्थलमा बोल्दै उहाँले मधेशको राजनीतिक वातावरण पनि एकता र सहकार्यतर्फ उन्मुख हुँदै गएको धारणा राख्नुभयो।
कमेन्ट गर्नुहोस्
view comments