नेपाल–भारत सीमामा विहार चुनावका लागि संयुक्त सतर्कता : सुरक्षा अधिकारीको बैठकमा द्विपक्षीय सहमति
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ३ गते । भारतको विहार राज्यमा कात्तिक २५ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउन दुवै देशका सुरक्षा अधिकारीहरूले आइतबार संयुक्त बैठक बसेका छन्। सीमावर्ती भिठ्ठा थानामा आयोजित बैठकमा पुपरी एसपीओ सुनिता कुमारीको अध्यक्षतामा नेपाल र भारतका सीमानाकाका सुरक्षा चौकी प्रमुखहरूको उपस्थिति थियो। नेपालका तर्फबाट महोत्तरीका मलिबारा प्रहरी चौकी प्रमुख प्रभु राउत, नैन्हीका भरतकुमार ठाकुर, भारतका एसएसबीका असिस्टेन्ट कमान्डेन्ट सुमीतकुमार र निशान्तकुमार, सर्किल इन्स्पेक्टर परशुराम सिंह, सुरसन्ड थाना प्रमुख लालकिशोर गुप्ता, चोरौतकी मोनी कुमारी, मधवापुरका हर्ष राज, भिठ्ठा उपप्रमुख रजनिश कुमार र सहायक अवर निरीक्षक गोपालकुमार लगायत सहभागी थिए। बैठकमा विहार चुनावलाई शान्तिपूर्ण बनाउन सीमाको दुवैतिर सुरक्षा व्यवस्था सुदृढीकरणबारे विस्तृत छलफल भएको जनाइएको छ।
बैठकमा द्विपक्षीय सहयोग, सूचना आदानप्रदान, सीमा समन्वय र आपराधिक गतिविधिमा निगरानीका लागि सहमति भएको छ। निर्वाचन अवधिमा फरार अपराधी, लागूपदार्थ तस्कर, मदिरा तथा गाँजा व्यापारी रोक्न दुवै पक्षले गस्ती तीव्र बनाउने र सुरक्षासम्बन्धी जानकारी साझा गर्ने निर्णय भएको सुरक्षा अधिकारीले बताए। नेपालका नागरिक भारतमा अपराधमा संलग्न भएमा सुपुर्दगी गर्ने र भारतका तत्वहरूलाई नेपालले पक्राउ गरी फिर्ता गर्ने सहमति पनि भएको छ। विहार निर्वाचनका लागि जिल्ला समन्वय समितिको बैठक चाँडै बस्ने जनाइएको छ। महोत्तरीका १५ स्थानीय तहमध्ये मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी र सोनरा गाउँपालिकाको ३८.४ किलोमिटर सीमा भारतसँग जोडिएको छ, जसमा विशेष निगरानी बढाइनेछ।
कमेन्ट गर्नुहोस्
view comments