बिहार चुनावअघि जद(यू)को अप्रत्याशित निर्णय — अमौरबाट पूर्व राज्यसभा सदस्य साबिर अली उम्मेदवार घोषित
4 घन्टा पहिले प्रकाशित

एजेन्सी,कार्तिक २ गते । बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा मुख्यमन्त्री नितीशकुमार नेतृत्वको जनता दल (युनाइटेड) ले अनपेक्षित रूपमा पूर्व राज्यसभा सदस्य साबिर अलीलाई अमौर विधानसभा क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ। पार्टीले शनिबार अचानक प्रेस विज्ञप्ति जारी गर्दै दुई दिनअघि सो क्षेत्रबाट घोषित उम्मेदवार सबा जफरलाई हटाएर साबिर अलीलाई टिकट दिएको हो।
साबिर अली पूर्णिया जिल्लाका निवासी हुन् र यही जिल्लाको अमौर क्षेत्रबाट २०२० को विधानसभाचुनावमा दोस्रो स्थानमा रहेका थिए। उनले राजनीतिक यात्रा लोक जनशक्ति पार्टी (लोजपा) बाट सुरु गरेका थिए र सोही पार्टीको टिकटमा राज्यसभामा पुगेका थिए। पछि जद(यू) बाट दोहोरिएको कार्यकाल पूरा गरे पनि २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेपछि नितीशकुमारले उनलाई पार्टीबाट निष्कासन गरेका थिए।
बादमा अली भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका थिए, तर आतंकवादी यासिन भटकलसँग सम्बन्ध रहेको आरोपपछि पार्टीबाट निकालिएका थिए। पछि २०१५ मा पुनः भाजपा प्रवेश गरेर अल्पसंख्यक मोर्चाका राष्ट्रिय महासचिव बनेका थिए। हाल उनी पुनः जद(यू)मा फर्किएका छन् र यसपालि हैदराबादका सांसद असदुद्दिन ओवैसीको पार्टी एआईएमआईएमका एकमात्र विधायक अख्तरुल इमानलाई चुनौती दिने तयारीमा छन्। पार्टीले किन सबा जफरलाई अन्तिम घडीमा बदल्यो भन्ने विषयमा भने स्पष्टता दिएको छैन।
कमेन्ट गर्नुहोस्
view comments