गोपालगञ्जमा घरबाट करोडौँ रुपैयाँ बरामद, दुई जना पक्राउ — साइबर ठगीसँग सम्बन्धित प्रकरण

4 घन्टा पहिले प्रकाशित

एजेन्सी,कार्तिक २ गते । बिहारको गोपालगञ्जमा प्रहरीले ठूलो सफलता हात पारेको छ। विधानसभा चुनावको बीचमा गुप्त सूचनाको आधारमा थावे थाना क्षेत्रअन्तर्गत कविलासपुर गाउँपालिका–अमेठी खुर्दमा गरिएको छापामारीबाट प्रहरीले एक घरभित्र लुकाइराखिएको एक करोड आठ लाख उनन्चालीस हजार तीन सय रुपैयाँ नगद बरामद गरेको हो। प्रहरीका अनुसार उक्त घरका दुई सदस्य — आदित्य कुमार र अभिषेक कुमारलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ। प्रहरीलाई नगद गन्नमै घण्टौं समय लागेको र नोट गन्नका लागि मेसिन समेत मगाउनुपरेको जनाइएको छ।

साइबर प्रहरी अधिकृतका अनुसार यो सम्पूर्ण प्रकरण साइबर ठगीसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। पक्राउ परेकामध्ये एकजना ग्यास मर्मत गर्ने काम गर्छन् भने अर्कोले चियाको पसल सञ्चालन गर्दै आएको बताइएको छ। साधारण परिवारको घरमा यति ठूलो परिमाणमा नगद बरामद भएपछि प्रहरी चकित बनेको छ। घटनास्थलबाट विभिन्न बैंकका एटीएम कार्ड, पासबुक र अन्य कागजात पनि बरामद गरिएको छ। अहिले प्रहरीले यो घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?