ऋण रकमको दुई प्रतिशत अर्थात् ५० लाख रुपैयाँ घुस मागेको अभियोगमा नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी घुस मुद्दामा दोषी ठहर
11 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १३ गते । नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी घुससम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले सोमबार अधिकारीसँग सम्बन्धित ६ वटा छुट्टाछुट्टै मुद्दामध्ये दुईमा पूर्ण र दुईमा आंशिक रूपमा दोषी ठहर गर्दै दुई मुद्दामा सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा प्रवाहमा सहजीकरण गरिदिने भन्दै व्यवसायीसँग घुस लिएको आरोपमा २०८२ जेठमा अधिकारीसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये तनहुँको अकला देवी ट्रेडर्सलाई २५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइदिने भन्दै ऋण रकमको दुई प्रतिशत अर्थात् ५० लाख रुपैयाँ घुस मागेको अभियोगसमेत थियो। अख्तियारको अनुसन्धानअनुसार पाँच लाख रुपैयाँ विभिन्न व्यक्तिको खातामार्फत नौ चरणमा स्थानान्तरण हुँदै अधिकारीको खातासम्म पुगेको थियो भने बाँकी रकमका लागि ३० लाख र १५ लाख रुपैयाँका चेक प्रयोग गरिएको थियो।
अधिकारीसँग सम्बन्धित अर्को मुद्दामा काभ्रेका व्यवसायी राजमान तामाङको हिमाल–तराई कन्स्ट्रक्सनलाई नेपाल बैंकबाट ६ करोड रुपैयाँ ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै एक प्रतिशत अर्थात् ६ लाख रुपैयाँ घुस मागेको अभियोग थियो। त्यस क्रममा पाँच लाख रुपैयाँको चेक लिएको आरोपमा अधिकारी र तामाङ दुवै दोषी ठहर भएका छन्। अख्तियारका अनुसार अधिकारीविरुद्ध ऋण प्रक्रियामा घुस लिएको सम्बन्धमा थप मुद्दासमेत दायर भएका थिए। विशेष अदालतको पछिल्लो फैसलामा दुई मुद्दामा सफाइ र बाँकी चार मुद्दामा पूर्ण वा आंशिक दोषी ठहर भएको हो। फैसलाको पूर्ण विवरण तथा सजायसम्बन्धी आदेश छुट्टै प्रक्रियाबाट आउनेछ।
कमेन्ट गर्नुहोस्
view comments