काँग्रेस बैठकमा फागुनको चुनाव सार्ने प्रस्ताव — सभापति देउवाको कुर्सी खाली रहँदा नेतृत्वबारे संकेतपूर्ण बहस

2 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ३१ गते । नेपाली काँग्रेसको बैठकमा आगामी फागुन २१ गते तय गरिएको निर्वाचन मिति वैशाखमा सार्नुपर्ने प्रस्ताव उठेको छ। सानेपामा जारी बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पहाडी जिल्लाहरूमा फागुनमा चुनाव सम्भव नभएकाले वैशाख मसान्ततिर सार्नु उपयुक्त हुने धारणा राखेका हुन्।

उनले भने, “वैशाखमा निर्वाचन गर्दा मौसम अनुकूल रहन्छ र सरकारले शान्ति–सुरक्षाको वातावरण तयार गर्न पर्याप्त समय पाउँछ।” बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ।

यसबीच, बैठकमा सभापति शेरबहादुर देउवाको कुर्सी खाली रहेकोले राजनीतिक अर्थ खोज्न थालिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गरे पनि देउवाको कुर्सी यथावत् राखिएको छ। एक केन्द्रीय सदस्यका अनुसार, “देउवा भौतिक रूपमा अनुपस्थित भए पनि राजनीतिक रूपमा सक्रिय छन् भन्ने सन्देश दिनका लागि कुर्सी खाली राखिएको हुनसक्छ।”

बैठकमा जेन–जी आन्दोलन र त्यसको प्रभाव, १५औँ महाधिवेशन तयारी, संसद् विघटन र आगामी निर्वाचनसहितका आठ बुँदे एजेण्डामाथि विस्तृत छलफल भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?