मधेश प्रदेशमा नयाँ सरकार गठनको दौड : कांग्रेस–एमाले वा लोसपा नेतृत्वको विकल्पमा छलफल

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १७ गते । मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि दलहरूबीच तीव्र छलफल सुरू भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले एकअर्कासँग सहकार्यको प्रयासमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई साथ दिन मनाउने पहल पनि भइरहेको छ। कांग्रेसकी सांसद अञ्जना पण्डितका अनुसार कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना बढी छ र यसबारे एमालेसँग निरन्तर छलफल जारी छ। मधेश प्रदेशसभामा १०७ सदस्यमध्ये सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ। एमालेसँग २५, कांग्रेससँग २२ र लोसपाको ९ मत जोडिएमा बहुमत पुग्ने गणित देखिन्छ।

तर लोसपाले सरकारको नेतृत्वमा पनि दाबी गरेको छ। यसै सन्दर्भमा लोसपा अध्यक्ष महन्थ ठाकुर मधेशमै पुगेर विभिन्न दलका नेताहरूसँग छलफल गरेर फर्किएका छन्। लोसपाका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार सरकार गठनका दुई विकल्प छन्—कांग्रेस–एमालेसहितको गठबन्धन वा कांग्रेस–एमाले बाहेक अन्य दलहरूको गठबन्धन। दुवै खाले गठबन्धनले लोसपालाई नेतृत्व दिने तयारी देखाएपछि अन्तिम निर्णय अध्यक्ष ठाकुरले गर्नेछन्। असोज ८ गते कांग्रेसले समर्थन फिर्ता लिएपछि जनमत पार्टीका सतिशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको गृहकार्य तीव्र बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?