नवरात्रको नवौँ दिन महागौरी देवीको पूजा आराधना

12 दिन पहिले प्रकाशित

  • तिथि वृद्धि भएकाले यस वर्ष नवौँ दिन महागौरीको पूजा

  • नवरात्रभर नौ दुर्गाको क्रमशः आराधना हुने परम्परा

  • देवीको पूजाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास

जनकपुरधाम, असोज १४ गते ।आज नवरात्रको नवौँ दिन घरघरमा वा पूजाकोठामा महागौरी देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ। सामान्यतया महागौरीको पूजा अष्टमीका दिन हुने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवमीका दिन पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। पौराणिक कथनअनुसार भगवान् शिवले देवीलाई ‘काली’ भनेर सम्बोधन गरेपछि महागौरीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गर्नुभएको हो। त्यसपछि उहाँलाई महागौरी नामले चिनिन थालिएको बताइन्छ।

नवरात्रको पहिलो दिन घटस्थापना भएसँगै शैलपुत्रीदेखि कालरात्रिसम्म नौ दुर्गाको क्रमशः पूजा आराधना हुँदै आएको छ। भक्तजनले यस अवधिमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत ग्रन्थको पाठसहित देवीको आराधना गर्छन्। धार्मिक विश्वासअनुसार महागौरीसहित नवदुर्गाको पूजा आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना गर्न र दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?