मधेश प्रदेश सभा सदस्यद्वारा संघीयता सबलीकरण र भ्रष्टाचारविरुद्ध चारबुँदे सङ्कल्प प्रस्ताव
17 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ९ गते । मधेश प्रदेश सभा सदस्यहरूले संघीयता सबलीकरण र भ्रष्टाचारविरुद्धको आन्दोलनमा प्राण गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चारबुँदे सङ्कल्प प्रस्ताव पेस गरेका छन्। बुधबार सांसद रामअशिष यादव, कुमारकान्त झा, हरिनारायण महतो, सुनिता यादव, रमिता प्रधान, चन्दन सिंह, कनिश पटेल, उर्मिलादेवी सिंहलगायतका हस्ताक्षरयुक्त प्रस्ताव सभामुख रामचन्द्र मण्डलसमक्ष बुझाइएको हो। प्रस्तावमा संघीय संरचनाप्रति जनप्रतिनिधिहरू एकताबद्ध रहने, संविधानमा स्थापित अधिकारको रक्षा गर्ने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सेवा प्रवाहलाई सबल बनाउन योगदान गर्ने र युवाको चेतना तथा सहभागितालाई नीति निर्माण र विकास योजनामा समावेश गर्नुपर्ने उल्लेख छ।
संकल्प प्रस्तावमा भदौ २३ गते भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा ७४ जनाले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ। साथै सयौँ घाइतेहरूको उपचारमा सरकारले आवश्यक ध्यान दिनुपर्ने माग गरिएको छ। सांसदहरूले आन्दोलनपछि संघीय संरचनाविरुद्ध भइरहेको नकारात्मक प्रचारलाई प्रतिगामी प्रयास भन्दै अस्वीकार गरेका छन्। संविधानलाई जनआन्दोलन, सशस्त्र संघर्ष र मधेश आन्दोलनको प्रतिफल बताउँदै संघीयताको संरक्षण र सबलीकरण नै सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments