मधेस प्रहरीको आग्रह: बिना बिलबिजक गहना वा सामग्री नकिन्न सर्वसाधारणलाई चेतावनी
18 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते । मधेस प्रदेश प्रहरी कार्यालयले सर्वसाधारणलाई बिना बिलबिजक सुनचाँदीका गहना वा अन्य सामग्री किनबेच नगर्न आग्रह गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूले चोरीका सामानहरू बजारमा बिक्री गर्ने सम्भावना रहेको भन्दै प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले यस्तो सूचना जारी गरेका हुन्। उनका अनुसार आन्दोलनको क्रममा सरकारी तथा निजी भवन, बैंक, वित्तीय संस्था र प्रतिष्ठानहरूबाट महत्त्वपूर्ण कागजात, ऐतिहासिक दस्ताबेज, बहुमूल्य गरगहना, नगद र अन्य सामान लुटिएको विवरण प्रहरीलाई प्राप्त भएको छ।
प्रहरीले यस्ता चोरीका सामानहरू लुकाइछिपाइ बिक्री हुने आशंका प्रकट गर्दै, आधिकारिक बिक्रेताबाहेक बिल नभएका सामग्री नकिन्न चेतावनी दिएको छ। यस्ता सामानको किनबेच कानुनी रूपमा दण्डनीय अपराध हुने प्रष्ट पार्दै, प्रहरीलाई जानकारी दिन नजिकैको प्रहरी कार्यालय वा टोल फ्री नम्बर १०० मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। प्रहरीका अनुसार नागरिकको सतर्कता र सहकार्यले मात्र शान्ति–सुरक्षा कायम राख्न सहज हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments