विधानसभा चुनावअघि मुख्यमन्त्री नीतीशकुमारको घोषणा : विकास मित्र र शिक्षा सेवकलाई विशेष सुविधा

21 दिन पहिले प्रकाशित

एजेन्सी, असोज ५ गते । बिहारका मुख्यमन्त्री नीतीशकुमारले आगामी विधानसभा चुनावलाई लक्षित गर्दै ठूलो घोषणा गरेका छन्। उनले न्यायसँगै विकास को सिद्धान्तअनुसार वञ्चित र पिछडिएका वर्गको उत्थानका लागि राज्य सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्दै विकास मित्र र शिक्षा सेवकहरूको भत्ता तथा सुविधा बढाउने निर्णय सार्वजनिक गरेका छन्। महादलित विकास मिशनअन्तर्गत काम गर्ने विकास मित्रलाई अब ट्याबलेट खरिदका लागि एकमुश्त २५ हजार रुपैयाँ सहयोग दिइने भएको छ। साथै, उनीहरूको यातायात भत्ता मासिक १९ सयबाट बढाएर २५ सय र स्टेशनरी भत्ता ९ सयबाट बढाएर १५ सय रुपैयाँ पुर्‍याइएको छ।

यसैगरी, अक्षर आञ्चल योजना अन्तर्गत महिला साक्षरता र वञ्चित समुदायका बालबालिकाको शिक्षा सुनिश्चित गर्न खटिएका शिक्षा सेवकलाई पनि थप सुविधा दिइने भएको छ। प्रत्येक शिक्षा सेवकलाई डिजिटल गतिविधि सहज बनाउन १० हजार रुपैयाँ बराबरको स्मार्टफोन उपलब्ध गराइनेछ भने शिक्षण सामग्रीका लागि वार्षिक सहयोग रकम ३ हजार ४०५ बाट बढाएर ६ हजार रुपैयाँ पुर्‍याइएको छ। सरकारले लिएको यी निर्णयले विकास मित्र र शिक्षा सेवकहरूको मनोबल बढ्ने र उनीहरूले अझ उत्साहपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?