प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता
12 घन्टा पहिले प्रकाशित

काठमाडौं,असोज २ गते । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज करिब आधा घण्टा फोन वार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भएको वार्तामा मोदीले नेपालमा पछिल्लो संकटलाई शान्तिपूर्ण तरिकाले व्यवस्थापन गर्न सफल भएकोमा कार्कीलाई धन्यवाद दिएका थिए। साथै, हालका घटनाक्रमका कारण नेपाली जनताले भोगेको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत नेपाललाई आवश्यक सबै प्रकारको सहयोग दिन तयार रहेको धारणा राखेका थिए।
वार्ताक्रममा प्रधानमन्त्री कार्कीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै नेपाललाई आवश्यक सहयोग र साथको अपेक्षा व्यक्त गरेकी थिइन्। मोदीले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कार्कीको नेतृत्वमा भइरहेको शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने प्रयासमा भारतको अटल समर्थन रहने दोहोर्याएका छन्। उनले भोलि पर्ने नेपालको राष्ट्रिय दिवसका अवसरमा पनि नेपाल सरकार र नेपाली जनतालाई शुभकामना दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments