तेज प्रताप यादवले नयाँ पार्टी ‘जनशक्ति जनता दल’ घोषणा, चुनाव चिन्ह ‘ब्ल्याकबोर्ड’ तय
5 दिन पहिले प्रकाशित

एजेन्सी, भदौ २९ गते । बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा राजद सुप्रीमो लालू प्रसाद यादवका ठूला छोराले तेज प्रताप यादवले आफ्नो नयाँ पार्टी घोषणा गरेका छन्। उनले बताएअनुसार, पार्टीको नाम ‘जनशक्ति जनता दल’ हुनेछ र यसको चुनाव चिन्ह ‘ब्ल्याकबोर्ड’ तोकिएको छ। तेज प्रतापले पार्टी २०२० मा नै गठन भएको बताए र अब चुनाव आयोगले यसलाई आधिकारिक मान्यता दिएको छ। साथै उनले ‘बिहार गठबन्धन’ नामक नयाँ राजनीतिक मोर्चा गठन गर्ने पनि घोषणा गरेका छन्। तेज प्रतापले स्पष्ट पारे– उनी मुख्यमन्त्री पदका लागि लालायित छैनन् र पूरा बिहार नै उनको परिवार हो।
राजनीतिक विश्लेषकका अनुसार यो चुनाव तेज प्रतापका लागि चुनौतीपूर्ण हुने देखिन्छ। यस पटक उनीसँग न त लालू प्रसाद यादव र राजदको समर्थन छ, न त नीतीश कुमारको राजनीतिक छत्रछाया। वरिष्ठ पत्रकार त्रिलोकी नाथ दुबेका अनुसार तेज प्रतापका लागि राजनीतिक समीकरण पहिले जस्तो छैन र यस चुनावले उनको राजनीतिक अस्तित्वको वास्तविक परीक्षा हुनेछ। तेज प्रतापले नयाँ ‘ब्ल्याकबोर्ड’ चिन्हबाट जनताको विश्वास जित्न सक्ने कि सक्दैनन्, त्यसको उत्तर चुनाव परिणामले दिनेछ।
कमेन्ट गर्नुहोस्
view comments