प्रधानमन्त्री कार्कीको नियुक्तिमा अमेरिकाको स्वागत, निर्वाचनमा सहकार्यको तयारी
28 दिन पहिले प्रकाशित

काठमाडौँ, भदौ २९ गते । संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको घटनालाई स्वागत गरेको छ। अमेरिकी दूतावासले आज विज्ञप्ति जारी गर्दै गत हप्ताका दुःखद् घटनापछि शान्तिपूर्ण समाधान खोजिएको भन्दै प्रशंसा गरेको हो। दूतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका युवा नेताहरूको प्रशंसा गर्दै नेपालप्रति शोकसाझेदारी पनि व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणकाललाई सहज बनाउन र नागरिक सरकार पुनःस्थापित गर्न पुर्याएको योगदानलाई उच्च सम्मान गरिएको उल्लेख छ। साथै, अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न अमेरिका तयार रहेको दूतावासले जनाएको छ। राष्ट्रपति पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments