फेसबुक मनिटाइजेसनमा नेपाल आधिकारिक रूपमा सूचीकृत, अब नेपाली क्रियटरलाई आयआर्जनको बाटो खुला
2 दिन पहिले प्रकाशित

काठमाडौं , भदौ १७ गते । मेटाले नेपाललाई ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’का लागि योग्य देशको सूचीमा औपचारिक रूपमा समावेश गरेको छ । सोमबारदेखि मेटाले आफ्नो वेबसाइटमा नेपाललाई आधिकारिक रूपमा सूचीकृत गरेको हो ।
यससँगै अब नेपाली फेसबुक प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरका लागि फेसबुकबाटै आयआर्जन गर्ने बाटो खुलेको छ । यसअघि मेटाले नेपाली प्रयोगकर्तालाई ‘इन्भिटेसन’का आधारमा अनौपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिंदै आएको थियो । तर, अब भने कम्पनीले योग्य देशको सूचीमा नेपाली पनि समेटेको छ ।
यससँगै योग्य सबै नेपाली क्रियटरले यो सुविधाका लागि आवेदन दिन सक्नेछन् । फेसबुक पेज वा प्रोफाइललाई प्रोफेसनल मोडमा परिणत गरेका क्रियटरलाई फेसबुकले कन्टेन्ट मनिटाइजेसनको सुविधा उपलब्ध गराइरहेको छ ।
कम्पनीले केही प्रयोगकर्तालाई इमेलमार्फत पनि नेपालमा यो सुविधा औपचारिक रूपमा सुरु भएको जानकारी गराएको छ ।
के हो कन्टेन्ट मनिटाइजेसन र यसले के फाइदा हुन्छ ?
कन्टेन्ट मनिटाइजेसन फेसबुकमा आफ्ना फोटो, भिडिओ, रिल्स, स्टोरी, टेक्स्ट पोस्ट जस्ता सामग्रीलाई ‘मनिटाइज’ गरेर पैसा कमाउन सकिने एक प्रणाली हो । यो सुविधाअन्तर्गत फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाउँछ र त्यसबाट प्राप्त आम्दानीको निश्चित हिस्सा क्रियटरलाई दिन्छ । क्रियटरले पोस्टमा आउने इङ्गेजमेन्टकै आधारमा आम्दानी गर्न सक्छन् । तर, यसको मापन कसरी हुन्छ भन्ने जानकारी बाहिर आएको छैन । अहिलेलाई फेसबुकको प्रणालीले नै कुन क्रियटरलाई कुन पोस्टबापत कति रकम दिने भन्ने निर्णय गर्छ ।
मेटाको यो निर्णयले नेपाली कन्टेन्ट क्रियटरलाई डिजिटल सामग्रीमार्फत आयआर्जन गर्न ठुलो अवसर प्रदान गरेको छ । पहिले यस्तो आम्दानीका लागि विदेशी बैंक खाता वा अन्य अनौपचारिक माध्यम प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब भने सर्जकले सिधै आफ्नो नेपाली बैंक खातामा रकम प्राप्त गर्न सक्नेछन् । यसबाट देशमा भित्रिने रेमिट्यान्स बढ्नुका साथै सरकारले प्राप्त गर्ने करमा समेत उल्लेख्य वृद्धि हुने देखिन्छ ।
मनिटाइजेसनका लागि कसरी योग्य हुने ?
फेसबुकबाट आम्दानी गर्नका लागि क्रियटरले केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
१) प्रोफेसनल मोड (Professional Mode): सबैभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइल वा पेजलाई ‘प्रोफेसनल मोड’मा बदल्नुपर्छ । यसका लागि आफ्नो प्रोफाइलको सेटिङमा गएर ‘Turn On Professional Mode’ विकल्प छनोट गर्नुपर्छ । त्यहाँ आफू कस्तो प्रकारको सर्जक (जस्तै: Digital Creator, Singer, Actor) हो, सो छनोट गर्नुपर्छ । (पेजका सन्दर्भमा भने केही गर्नु पर्दैन)
२) मनिटाइजेसनका लागि आवेदन: प्रोफाइल प्रोफेसनल मोडमा गएपछि ‘प्रोफेसनल ड्यासबोर्ड’ भित्र रहेको ‘Monetization’ अप्सनमा जानुपर्छ । यदि तपाईं योग्य भइसक्नुभएको छ भने त्यहाँ विभिन्न टुल (जस्तै: Stars, Ads on Reels) देखिन्छन् । यदि योग्य हुनुभएको छैन भने ‘Not Yet Eligible’ मा गएर आवेदन दिन सकिन्छ । फेसबुकले तपाईंको प्रोफाइलको सक्रियता र मापदण्डका आधारमा आवेदन स्वीकृत गर्छ ।
३) भुक्तानी र कर विवरण सेटअप (Payout and Tax Setup): आवेदन स्वीकृत भएपछि आम्दानी जम्मा गर्नका लागि भुक्तानी विवरण (Payout Setup) मिलाउनुपर्छ ।
* कर विवरण (Tax Info): यसका लागि आफ्नो नागरिकता अनुसारको पूरा नाम, जन्ममिति, स्थायी ठेगाना, र स्थायी लेखा नम्बर (PAN) अनिवार्य रूपमा भर्नुपर्छ ।
* बैंक खाता (Bank Account): भुक्तानी प्राप्त गर्न आफ्नो बैंक खाताको विवरण भर्नुपर्छ । यसका लागि बैंकको ‘स्विफ्ट कोड’ (SWIFT Code) र आफ्नो खाता नम्बर आवश्यक पर्छ ।
कमेन्ट गर्नुहोस्
view comments