पोखराबाट अस्ट्रेलिया उडान सुरु गर्ने तयारी, भैरहवामा पनि विदेशी एयरलाइन्स आकर्षित

8 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ १२ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया जाने नियमित उडानको अनुमति मागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरेर आगामी सेप्टेम्बरदेखि उडान सुरु गर्ने तयारी गरिएको छ। यसअघि सिचुवानले पोखरामा चार्टर्ड उडान गरिसकेको थियो भने अब नियमित अस्ट्रेलिया मार्गलाई नयाँ गन्तव्य बनाउने योजना रहेको छ। यससँगै पोखरा विमानस्थलमा हिमालय एयरलाइन्स, सिचुवान र भूटान एयरलाइन्सको उपस्थिति रहनेछ।

यसैबीच भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। दुवै एयरलाइन्सले अघिल्लो समयमा उडान स्थगित गरे पनि अक्टोबरदेखि सुरु हुने ‘विन्टर सेडुअल’ अनुसार हप्तामा दुई–दुई उडान गर्ने योजना बनाएका छन्। सरकारका अनुसार पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन वायुसेवालाई आकर्षक छुट सुविधासमेत दिइएको छ। यी दुई विमानस्थलमा विदेशी वायुसेवा थपिँदै गएसँगै नेपालको दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुने र यात्रुका लागि नयाँ विकल्प खुल्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?