नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५० वर्ष : उपराष्ट्रपतिबीच उच्चस्तरीय भेटवार्ता

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ८ गते । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले आइतबार बिहान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग काठमाडौंमा भेटवार्ता गरेकी छन्। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। तीन दिने औपचारिक भ्रमणका क्रममा दुवै उपराष्ट्रपतिबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हुने र त्यसपछि संयुक्त पत्रकार सम्मेलन हुने कार्यक्रम छ। वार्तामा व्यापार, लगानी, जलविद्युत् र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने कार्यतालिका तय भएको छ।

यो भ्रमण नेपाल–भियतनाम सम्बन्धको ५०औँ वार्षिकोत्सवसँगै भियतनामबाट नेपालको पहिलो उच्चस्तरीय भ्रमण पनि हो। सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्नेछिन् भने सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन्। तनहुँ जलविद्युत् आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहबीच भएको साझेदारीले आगामी दिनमा ऊर्जा तथा लगानी क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?