चौथो पटक म्याद थपियो मुग्लिन–पोखरा सडक पूर्वी खण्डको काम
7 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ८ गते । मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको सडक निर्माणको म्याद चौथो पटक थपिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज २५ गतेसम्मको लागि म्याद थप गरेको हो। यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद सकिएको थियो। पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डाका अनुसार ४१.५ किलोमिटर लामो खण्डमा चार लेन कालोपत्र पूरा भइसकेको छ भने दमौली बजार क्षेत्रमा छ लेनको कालोपत्र गरिएको छ। अधिकांश ठाउँमा सडक रङ्रोगन पनि सकिएको भए पनि केही काम बाँकी रहेकाले म्याद थपिएको उनले बताए।
यो खण्डको ठेक्का चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको हो। विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। सम्झौता अवधिमा तीन वर्ष र थप ४५६ दिनभित्र कालोपत्रको काम पूरा भएको बताइए पनि अन्तिम चरणका कार्य बाँकी भएकाले थप म्याद आवश्यक भएको हो। विसं २०२६ सालमै रेखांकन भएको यो सडकमा बढ्दो यातायात चापका कारण एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेन विस्तार गरिएको हो। पूर्वी खण्डको ठेक्का मूल्य छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments