वन मुद्दामा दोषी ठहरिएका कांग्रेस सर्लाही सभापति सिंहको राजीनामा

18 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ६ गते । सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले नेपाली कांग्रेसको पदबाट राजीनामा दिएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सिंहले राजीनामा बुझाएका हुन्।

सर्वोच्च अदालतले २०८० फागुन १५ गते वन विनाश गरी भ्रष्टाचार गरेको कसुरमा सिंहलाई दोषी ठहर गर्दै चार महिना १५ दिन कैद सजाय तोकेको थियो। दोषी ठहर भए पनि उनी जिल्ला सभापति पदमै रहेका कारण कांग्रेसभित्र निरन्तर आलोचना हुँदै आएको थियो।

पार्टीभित्र शेखर कोइरालादेखि स्थानीय नेतासम्मले सिंहलाई पदमुक्त गर्न माग गर्दै निरन्तर आवाज उठाउँदै आएका थिए। गत माघमा सानेपास्थित केन्द्रीय कार्यालयमा धर्नासमेत भएको थियो। यसअघि कार्यकर्ताले ज्ञापनपत्र बुझाएर पनि सिंहलाई पदमुक्त गर्न आग्रह गरेका थिए।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेस विधानअनुसार फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएका व्यक्ति पार्टीको साधारण सदस्यसमेत नरहने व्यवस्था छ। सिंह २०७८ सालमा भएको अधिवेशनमार्फत सभापति निर्वाचित भएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?