१६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था, नयाँ कानुन ल्याउने तयारी : गृहमन्त्री लेखक

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ५ गते । गृहमन्त्री रमेश लेखकले आधारभूत तहका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था मिलाउने गरी नयाँ कानुनको प्रक्रिया अघि बढाइएको बताएका छन्। नेपाल प्रहरी श्रीमती संघको ४१औँ वार्षिकोत्सवमा बोल्दै उनले प्रहरी तथा सशस्त्र प्रहरीसम्बन्धी नयाँ कानुन चाँडै जारी हुने प्रतिवद्धता व्यक्त गरे। उनका अनुसार कार्यालय सहयोगीदेखि हवल्दारसम्मका प्रहरीलाई आधारभूत तह मानिनेछ, र अब उनीहरू १६ वर्षमै अनिवार्य अवकाश पाउनेछन्।

गृहमन्त्री लेखकले आधारभूत तहका प्रहरीले दिनमा न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म लगातार खटिनुपर्ने भएकाले उनीहरूको १६ वर्षको सेवाकाल वास्तवमा २३-२४ वर्ष बराबरको काम सरह हुने स्पष्ट गरे। निजामति कर्मचारीले कुर्सीमा बसेर सीमित घण्टा मात्र काम गर्ने तर प्रहरीहरू निरन्तर उभिएर काम गर्नुपर्ने उदाहरण दिँदै उनले छिट्टै थकाइ हुने भएकाले यो व्यवस्था गरिएको बताए। साथै, उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सबै जातजाति, लिङ्ग र भूगोलको प्रतिनिधित्व हुने संरचना बनाउन पहल भइरहेको र महिलाका लागि आरक्षण अझ बढाइने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?