मधेसवादी दलहरूको दोहोरो चरित्रकै कारण अधिकार खोसिएको दाबी : अध्यक्ष झा

23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ २ गते ।  नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसवादी राजनीतिक दलहरूको दोहोरो चरित्रकै कारण मधेसले अपेक्षित अधिकार प्राप्त गर्न नसकेको आरोप लगाएका छन्। उनका अनुसार काठमाडौँमा पुगेपछि ‘संघीय अभिवादन’ गर्ने तर मधेस फर्किंदा ‘जय मधेस’ भन्दै दोहोरो खेल खेल्ने दलहरूले मधेसका मुद्दा कमजोर बनाइरहेका छन्। प्रधानमन्त्रीसँग भेट्दा पूजा गर्ने तर मधेसमा गएर उल्टै भिन्न कुरा बोल्ने नेताहरूको प्रवृत्ति अब जनताले बुझ्नुपर्ने उनले बताए। झाले मधेसका जनतालाई ढुक्क पार्ने नाममा ‘डबल स्ट्यान्डर्ड’ र ‘ट्रिपल स्ट्यान्डर्ड’ पार्टीहरू सक्रिय रहेको टिप्पणी गरे।

आगामी निर्वाचन अझै दुई वर्ष बाँकी रहेको उल्लेख गर्दै झाले सद्भावना पार्टीलाई जनस्तरसम्म पुर्‍याउने तयारी भइरहेको बताए। उनले चुनावलाई नै नेताको वास्तविक ‘टेस्ट’ बताउँदै प्रत्येक पाँच वर्षमा हुने निर्वाचनमार्फत जनताले मूल्याङ्कन गर्ने बताए। “विद्यार्थीले हरेक वर्ष परीक्षा दिन्छन्, नेताले भने पाँच वर्षमा एकपटक मात्र मौका पाउँछन्,” उनले भने, “हामी भूमिगत नभई मतपत्रमार्फत मात्रै राजनीति गर्ने पार्टी भएकाले फेरि पनि चुनावी प्रतिस्पर्धामा उत्रन तयार छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?