राप्रपा प्रवक्ता शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणाको राजीनामा माग

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन् । इजरायल–हमास द्वन्द्वका क्रममा हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल नगरेको र उनको परिवार गम्भीर संकटमा परेको भन्दै शाहीले सरकार र परराष्ट्र मन्त्रालयमाथि कडा आलोचना गरेका हुन् । सामाजिक सञ्जालमार्फत शाहीले मन्त्री राणालाई ट्याग गर्दै कूटनीतिक कमजोरीका कारण नागरिकको जीवनरक्षा सुनिश्चित गर्न नसकेको आरोप लगाएका छन् ।

शाहीले विपिन जोशीको परिवार इजरायलमै गएर न्यायका लागि गरिरहेको हारगुहारले आफू गहिरो पीडित भएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा परराष्ट्र मन्त्रालय निष्क्रिय रहेकोमा प्रश्न उठाएका छन् । उनले परराष्ट्र मन्त्रालयलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत विपिनको सकुशल रिहाइ सुनिश्चित गर्न, परिवारलाई मानसिक–नैतिक सहयोग उपलब्ध गराउन र भविष्यमा विदेशस्थित नेपालीको सुरक्षाका लागि दीर्घकालीन रणनीति बनाउन आग्रह गरेका छन् । शाहीले जिम्मेवारी पूरा गर्न असमर्थ भए परराष्ट्र मन्त्री र कर्मचारीहरूले पदमै बसिरहन नपाउने स्पष्ट चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?