चार महिनामा २,८५३ विपद् घटना, १२६ को मृत्यु
12 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ १ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर दुई हजार ८५३ विपद्का घटना घटेका छन् । ती घटनामा एक सय २६ जनाले ज्यान गुमाएका छन् भने पाँच सय ८५ जना घाइते भएका छन् । विपद्मा परेर २३ जना बेपत्ता भएका छन् र पाँच हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, डढेलो, हुरीबतासदेखि जनावर आक्रमणसम्मका घटनाले व्यापक क्षति पुर्याएको प्राधिकरणले जनाएको छ ।
यस अवधिमा मात्रै १,११४ वटा आगलागी, ३१७ वटा पहिरो, २१६ बाढी, २४५ चट्याङ, १५८ डढेलो र २७७ हुरीबतासका घटना दर्ता भएका छन् । भूकम्प, डुङ्गा पल्टिने, असिना हुरी र अन्य घटना समेत समेट्दा कुल विपद् संख्या बढेको हो । साउन ३१ गते मात्र २३ वटा विपद् घटना घटेका छन्, जसमा एक जनाको मृत्यु भएको छ । सोही दिनको अनुमानित क्षति करिब ३८ लाख ४० हजार रुपैयाँ बराबर पुगेको र खोज, उद्धार तथा राहतका लागि १४० जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments