प्रधानमन्त्री ओलीले मनहरपुर–खरिहानी सडक शिलान्यास गरे

18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मनहरपुरमा सडक शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओली र मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले संयुक्त रूपमा धनुषा क्षेत्र नं. १ स्थित मनहरपुर ज्ञान चोकमा समारोहपूर्वक सडकको शिलान्यास गरेका हुन्। उक्त सडक मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा मनहरपुर–हंसपुर हुँदै खरिहानी–सिमराढीसम्म १६.३५ किलोमिटर लम्बाइको निर्माण हुने छ।

कुल ६५ करोडको लागतमा निर्माण हुने यस सडकको ठेक्का निर्माण कम्पनीले ४४.४८ लाखमा कबोल गरेको छ। यसैगरी, प्रधानमन्त्री ओलीले मधेश प्रदेश प्रहरी कार्यालय उद्घाटन समारोहमा सहभागिता जनाउने र त्यसपछि हेलिकप्टरमार्फत महोत्तरीको सोनमा स्थित रघुनाथपुरदेखि सुन्दरपुरसम्मको सडक शिलान्यास गर्ने कार्यक्रम रहेको सभामुखका स्वकीय सहायक रमेश कुमार मण्डलले जानकारी दिएका छन्। समारोहमा मुख्यमन्त्री सतिष कुमार सिंह, सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठसहित अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?